विद्युत प्राधिकरणको लापरबाही, बिजुलीको तार जमिनमा

१३ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा विद्युतीय लाइनको अव्यवस्थित तार, कमसल खम्बा र बेला बेलामा आउने बढी करेन्ट प्रवाह(हाइभोल्टेज)का कारण करेन्ट लागेर तीन वर्षमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
electricityचालु आवमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाए । गत ११ गते मात्र सिपापोखरे गाविस–१ कि ६० वर्षीया फत्तकुमारी घिमिरे खेतमा मकै गोडिरहेको अवस्थामा विद्युत् लाइनको तार चुडिएर करेन्ट लागेपछि खेतमै आफ्नो प्राण त्यागिन् ।
नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीको कारण वर्षौंपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुवासी । विद्युत्कोे उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको मेलम्ची नगरपालिका–१२ का स्थानीय शिक्षक गणेश दाहालले बताए ।
०७२ भदौ २३ गते बाटोमा हिँड्दै गर्दा ११ हजार भोल्डकोे हाइटेन्सनको तार चुडिएर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।
उनका अनुसार चालु आवमा करेन्ट लागेर मृत्यु हुनेमा फुल्पिङडाँडाका ११ वर्षीय बालक अब्राहम सुवेदी बाटो हिँड्दै गर्दा करेन्ट लागेर ज्यान गुमाए । त्यस्तै भोटसिपाका डम्बर तामाङ, हगामका सोमलाल तामाङ र फुल्पिङडाँडाको ५० वर्षीय सार्की भुजेलले बिजुलीकोे पोलमा छुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा तथ्याङ्क रहेको छ ।
आव ०७१÷०७२ मा करेन्ट लागेर तीन जनाको मृत्यु भयो । पिसाब फेर्न घरबाहिर जाँदा ढलेको पोलको खम्बामा रहेको तारमा छँुदा १९ वर्षीय मेलम्ची नगरपालिका–२ का अनिल तामाङले जीवन गुमाउनु प¥यो । त्यस्तै हाइभोल्टेजका कारण मेलम्ची नगरपालिका–८ कि ३१ वर्षीया मनुमाया तामाङको मोबाइल चार्ज गर्ने क्रममा मृत्यु भयो भने धुस्कुन गाविसकी अञ्जली नेपालीले पनि करेन्ट लागेरै आफ्नो प्राण त्यागिन् ।
आव ०७०÷०७१ मा मात्र जिल्लाको विभिन्न गाविसबाट एक बालकसहित छ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । करेन्ट लागेर ०७० फागुन २५ गते कुन्चोक गाविसका २२ वर्षीय राजेन्द्र थापाले अकालमा ज्यान गुमाए । त्यस्तै मेलम्चीका भीमबहादुर तामाङ, लक्ष्मी तामाङ, भोटेनाम्लाङकी पुड्की तामाङ र साँगाचोक गाविसका कुमाले विकले करेन्ट लागेरै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरण मौन रहेको मेलम्चीका प्रकाश श्रेठले बताए ।
जिल्लाको शिखरपुर, नवलपुर, मेलम्चीलगायतका सडक क्षेत्रमा बिजुलीको तार लत्रिएका कारण बसमा छतमा तारले छुने हुँदा र काठको पोल मक्किएर ढल्ने गरेका कारण यसबाट समेत ठूलो दुर्घटना हुने अवस्था देखिएको बाडेगाउँ गाविसका स्थानीयवासी पासाङ तामाङले बताए ।
सडक किनारमा रहेको बिजुली तार व्यवस्थापन गर्न निवेदन दिँदा समेत प्राधिकरणले चासो नदिने स्थानीय गुनासो छ । समयमा निवेदन गर्दा ध्यान नदिने र पछि दुर्घटना हँुदा बच्न खोज्ने प्रवृत्ति रहेकाले अब छिट्टै यस्तो गैर जिम्मेवार काम गर्न नहुने सिन्धुवासी बताउँछन् ।
समय समयमा विद्युत्का कारण हुने दुर्घटना रोक्न सम्बन्धित प्रशासनले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्ने देखिन्छ । प्राधिकरणको बेवास्ताले कति बेला बिजुलीकोे तार चँुडिएर र पोल ढलेर लाग्ने हो भन्ने त्रासमय जीवन बिताउनु परेको तालामाराङका स्थानीय उमाकान्त लामिछाने बताउछन् ।

Comments

Popular posts from this blog

11 Best Ways to Fix Microphone Not Working on Instagram

गर्मी निकै बढ्यो, नो टेन्सन

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)